ट्रम्पले जर्जियाको जेलमा आत्मसमर्पण गरे, मग सट सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ।

ट्रम्पको मग सट सार्वजनिक गरिएकाे छ। उनकाे मग सट सार्वजनिक भएको यो पहिलो पटक हो। ट्रम्पको जमानतको लागि दुई लाख डलरको रकम तोकिएको छ।

यस महिनाको सुरुमा जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध धेरै आरोप लगाएका थिए। जो बाइडेनको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ।

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो। यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरेका थिए।

अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन। फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ।

ट्रम्पले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावलाई चुनौती दिन सक्नुपर्छ। मलाई लाग्छ कि चुनावमा धाँधली भएकाे थियाे। मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ। निर्वाचनमा बेइमानी भएको महसुस भएमा त्यसलाई चुनौती दिने अधिकार हामीसँग छ।’

साढे दुई वर्षपछि ट्रम्पले गरे पहिलो ट्विट

लगभग साढे दुई वर्षपछि ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्विटरमा ट्विट गरेका छन्।

उनले मग सटको तस्विरसँगै आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन्।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्वीट गरेका थिए। ट्रम्पलाई ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो र उनले आफ्नै सामाजिक मिडिया ट्रुथ चलाउन थालेका थिए।

गत वर्ष ट्विटरका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध हटाए पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

Array