साताभर नेप्सेमा ३२.९० अंकको गिरावट, अर्को साता के होला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८०, शनिबार
4 Min Read
Aa

यो साता सेयरबजार ३२.९० अंकले घट्यो। बजार घटेसँगै कारोबारसमेत खुम्चिन पुगेको छ। गत साता ११ अर्ब बढीको कारोबार हुँदा यो साता खुम्चिएर ९ अर्ब ६९ करोड सीमित भएको छ। साताको पहिलो कारोबार (आइतबार) २०६६.०५ विन्दुमा खुलेकोमा बजार अन्तिम कारोबार दिन (बिहीबार) २०३३.१३ विन्दुमा अड्एिको हो।

यो साता पाँच कारोबार दिनमध्ये ३ दिन घटेको बजार दुई कारोबार दिन बढ्यो। साताको पहिलो र अन्तिम दिन सामान्य अंकले बढेको बजार दोस्रो, तेस्रो र चौथो कारोबार दिन घटेको हो। साउन ८ गते यता बजार १९४.०३ अंकले घटेको छ। साउन ७ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ल्याएसँगै बजार ओरालो लागेको थियो।

मौद्रिक नीतिमा १२ करोडको सिमा र जोमिखभारको माग सम्बोधन नभएपछि बजार ओरालो लागेको लगानीकर्ताको भनाई छ । तर, अघिल्लो वर्षको तुलनामा सेयर धितो कर्जा धेरै घटेको भने देखिँदैन। २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जाको केही घटेको हुँदा त्यसको जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याइएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ।

बैंक तथा वित्तीय संस्थाले गत वर्षको रिपोर्ट सार्वजनिक गर्दा वाणिज्य बैंकहरुमा सेयरमा थोरै डिमान्ड देखिएको छ। डिमान्डसँगै सप्लाई पक्ष बलियो बन्दा सेयरमूल्य बढेको देखिँदैन। यो साता बैंक तथा वित्तीयले भदौको ब्याजदर समेत प्रकाशित गरे। अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएका छन्। केही ब्याजदर स्थिर राखेका छन्। सम्रगमा साउनको तुलनामा भदौमा ब्याजदर बढेको छ। निक्षेप ब्याजदर बढ्दा कर्जाको समेत ब्याजदर बढ्ने हुन्छ।

यो साता ब्याजदरले बजारमा कुनै प्रभाव गरेको देखिँदैन। ब्याजदर बढ्नु बजारका लागि राम्रो मानिँदैन। आगामी साता ब्याजदरले बजारको आगामी यात्रा निर्धारण हुने जानकार बताउँछन्। बजार २ हजार वरिपरी हुँदा बढेको ब्याजदरले बजारलाई असर नगरेको उनीहरुको भनाई छ। लगानीकर्ताहरुले बजार २ हजार तल नआउने मनोबलका साथ बस्दा ब्याजदरको प्रभाव नदेखिएको हो।

बजार २ हजारनजिक आउँदा लगानी गर्ने र २२ सय पुग्दा लगानी बुक गर्ने ट्रेन्डका कारण बजारमा ब्याजदरले प्रभाव नदेखिने उनीहरुको भनाई छ। यस साता सेन्सेटिभ इन्डेक्स ७ अंकले घटेको छ। उता फ्लोट इन्डेक्स २ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स १.५९ अंकले बढेको छ।

यस साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब छ। यस साता १३ वटा उपसमूहमध्ये १० उपसमुह घटेको छ । त्यसैगरी ३ उपसमूह भने बढेका छन्। यो साता बैंकिङ, होटल र म्युचल फण्डको उपसमुह बढेको छ। अन्य लाइफ, नन लाइफ, उत्पादन तथा प्रशोधन, डेभलपमेन्ट बैंकिङ, माइक्रो फाइनान्स, ट्रडिङ, हाइड्रोपावर, फाइनान्स, अन्य र इन्भेष्टमेन्ट उपसमुह घटेको छ।

यो साता म्युचल फण्डको उपसमूह उच्च अंकले बढेको छ। त्यसैगरी गत साता १२७१.८२ विन्दुमा रहेको बैंकिङ उपसमुह बढेर यो साता १२७४.११ बिन्दुमा पुगेको हो। त्यसैगरी होटल उपसमुह सामान्य अंकले बढेको छ।

यो साता हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपसमुहमा सबैभन्दा धेरै अंकको गिरावट आएको छ। गत साता ५६६०.०६ बिन्दुमा रहेको उत्पादन तथा प्रशोधन उपसमूह यो साता घटेर ५३६०.५० प्रतिशतमा झरेको छ।

हाइड्रोपावर उपसमूहसमेत उच्च अंकले घटेको छ। गत साता २२३५.७७ बिन्दुमा रहेको हाइड्रोपावर उपसमुह यो साता २१३४.९७ विन्दुमा झरेको हो। यो साता नेप्सेमा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यो साता सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ। त्यसैगरी प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो साता आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र शिवम् सिमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा अधिकांश माछापुच्छ्र‍े बैंकको सेयर रहेको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि बैंक, कुमारी बैंक लगायत बैंकहरु सेयर थिए।

प्रतिक्रिया दिनुहोस्

Array