विमानस्थल सुरक्षामा हेरफेर गर्ने सरकारको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ श्रावण २०८०, बिहीबार
3 Min Read
Aa

विमानस्थलबाट बारम्बार सुन तस्करी हुन थालेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने अवस्था आएको बताएका छन्। विमानस्थलको सुरक्षा अवस्थाबारे कार्यदल बनाउने तयारी सरकारले गरेको प्रधानमन्त्रीको भनाइ छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विमानस्थलको सुरक्षा व्यवस्थामा हेरफेर गर्न कार्यदल बनाउने जानकारी दिएका थिए।

‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ ।’

साउन २ गते विमानस्थलबाट भन्सार पास भएर आएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर ल्याएको सुनको परिमाण ६० किलो ७१६ ग्राम छ।

उक्त सुन प्रकरणबारे अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिहरेको छ। यसअघि पनि विमानस्थलबाट पटक-पटक किलोका किलो सुन तस्करी हुँदै आएको थियो। सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ।

सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ।

अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ।

गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लागेका राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परे पनि आवश्यक प्रमाण अपुग भएपछि पुनः बोलाउनेगरी छोडिएको थियो।

बुधबार पक्राउ परेका चिनियाँ नागरिकहरूमा लिविन ताई, टिमिङ मी, डिङ सेङ्फा र ली नेङ्काई रहेका छन्। यसअघि पक्राउ परेका व्यक्तिहरूसँगको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

यसअघि राजस्व अनुसन्धान विभागले १५ नेपालीसहित १८ जनालई पक्राउ गरी सिआइबीलाई हस्तान्तरण गरेको थियो। जसमा भन्सार अधिकृत सन्तोष चन्द र भन्सार एजेन्ट राजकुमार भुजेल पनि छन्

गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागबाट जाँच पास भएर बाहिरिसकेपछि ट्याक्सीसहित राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो। स्कुटरको ‘ब्रेक सु प्याड’मा ल्याइएको सुन गलाउँदा ६० किलो ७ सय १६ ग्राम निस्केको छ।

सय किलो सुनको अनुसन्धान गर्ने क्रममा राजस्व अनुसन्धान विभागले कमलपोखरीमा राकेश अडुकियाको घरमा, बुढानिलकण्ठ, टोखा, ठमेललगायतका क्षेत्रमा छापा मारेको थियो।

टोखामा कृषि फार्मको आवरणमा सुन गाल्ने उपकरण पाएपछि यसमा अन्तर्राष्ट्रिय अपराधीको संलग्नता भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०लाई अनुसन्धानको फाइल हस्तान्तरण गरेको थियो।

विमानस्थलबाट बारम्बार सुन तस्करी हुन थालेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गर्ने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array