इंग्लिस प्रिमियर लिग फुटबलमा साविक च्याम्पियन म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ।
शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा सिटीले यसै सिजन च्याम्पियन बन्दै प्रिमियर लिगमा बढुवा भएको बर्नलीमाथि ३-० को जित निकाल्यो।
सिटीको प्रभावशाली जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले २ गोल गर्दा अर्को एक गोल रोड्रीको नाममा रह्यो।
खेलको चौंथो मिनेटमा नै हालान्डले रोड्रीको पासलाई सदुपयोग गर्दै अग्रता दिलाएका थिए। उनले ३६ औं मिनेटमा अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा नै सिटीले २-० को अग्रता बनायो।
दोस्रो हाफमा सिटीले अर्को एक गोल थपेको थियो। रोड्रीले ७५ औं मिनेटमा गोल गर्दा सिटीले सहज जित हासिल गर्यो।
गत सिजन ट्रेबल जितेको सिटी यो सिजन पनि उपाधि दाबेदार हो। सिटीले गत सिजन ट्रेबलको उपाधि जित्दा हालान्डले ५२ गोल गरेका थिए।
यो सिजनको खाता खोल्न उनले केवल १८५ सेकेन्ड लगाए। प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन्।


प्रतिक्रिया दिनुहोस्