प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमणमा गएका छन्।
उनले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेकाे छ ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई तथा मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
२०१४ पछिको पहिलो भ्रमण
सन् २०१४ पछि दुई देशबीच हुन लागेको यो पहिलो भ्रमण हो। सन् २०१४ मा इटालीका तत्कालीन विदेशमन्त्रो बेनेडेटो डेल्ला भेडोभा नेपाल भ्रमण गरेका थिए ।
त्यसयता इटाली र नेपालबीच कुनै पनि उच्चस्तरीय भ्रमण नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
सन् १९५२ मा इटालोसँग नेपालले औपचारिक कूटनीतिक सम्बन्ध गाँसेको हो । विसं २००७ को प्रजातन्त्रपछि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष विकास सहयोग गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्