सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् ।

सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताए।

संयोजक श्रेष्ठले भने, “अहिलेसम्म देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपियाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याज जोड्नै बाँकी छ । यी सबै नागरिकले न्याय पाउनु पर्छ भनेर हामी आन्दोलनमा होमिएका हौँ ।”

उनले सहकारी दर्ता गर्ने, जनता ठगी गर्ने, विदेशमा पैसा पठाउने जस्ता कार्यमा संलग्न सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

संरक्षक केसीले ४५ दिनदेखि धर्नामा रहे पनि सरकारका तर्फबाट समस्या समाधानको प्रस्ताव नआएको बताए। उनले सरकारले २७ बुँदे कार्यनीति ल्याए पनि सहकारीको समस्या समाधान गर्न पर्याप्त नभएको बताए। उनले भने, “पीडितका पक्षमा कुनै छलफल पनि भएन । १४ वर्षदेखि आन्दोलनमा रहेका सहकारी पीडित नागरिकका पक्षमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्छ भन्ने हाम्रो माग हो ।”

उनले ओरिएन्टल, गुण कोअपरेटिभ, पशुपति सहकारी जस्ता कैयौँ सहकारीले नागरिकको बचत ठगी गरेको बताउँदै बचतको पैसा संस्थाको, आफ्नो र परिवारको नाममै नरहेकाले कर्मचारीका आफन्तका नाममा सहकारीको सम्पत्ति राखेको विषयमा छानबिन गर्न आग्रह गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाटै सहकारीका समस्या समाधान गर्नका लागि गृहकार्य भइरहेको बताए। उनले सङ्कटग्रस्त १२ मध्ये दुईवटा सहकारीको हिसाब राफसाफ गरेर बचतकर्ताको रकम फिर्ता गरिएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्

Array