नेसपामा एक्लिँदै बाबुराम, महिन्द्र र गंगा प्रचण्डसँगको एकताका पक्षमा उभिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८०, शुक्रबार
2 Min Read
Aa

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ । अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन्।

उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा माओवादीसँग एकताको पक्षमा उभिएका छन् । उनीहरुले आवश्यक परे बाबुरामको साथ छोड्ने पनि चेतावनी दिएका छन् । समाजवादी मोर्चाको परिकल्पनाकार नै बाबुराम भएको चर्चा छ ।

तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बाबुरामसँगको व्यक्तिगत तुषका कारण बाबुरामलाई मोर्चामा नसमेटिएको अर्को चर्चा छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि बाबुरामलाई चाहँदा चाहँदैपनि मोर्चामा समेट्न नसकिएकोमा उपेन्द्रको हात रहेको स्विकारेका छन् ।

अहिले माओवादी र नेसपाबीचको एकता प्रक्रिया अवरुद्ध भएको छ । यसमा बाबुरामले नै मन नबनाएको चर्चा छ । खासगरी उनले प्रचण्डले आफूलाई धोका दिएको निश्कर्ष निकालेका छन् । अहिले उनी आफ्नो पार्टीको संगठन निर्माणमा जुटेका छन् । तर, उनलाई सुरुदेखि नै साथ दिँदै आएका नेताहरु नै अहिले माओवादीसँग एकताको लागि एक कदम अघि बढिसकेका छन् ।

उनीहरुले सबै माओवादीहरु गोलबन्द हुने बेलामा एकताबाट भाग्न नहुने धारणा बनाएका छन् । अहिले बाग्मती प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठ नै माओवादीसँग एकताको पक्षमा दृढ भएर उभिएका छन् । यस्तै, अध्यक्ष महिन्द्र राय यादव पनि एकताको पक्षमा छन् । उनी अहिले प्रचण्ड नेतृत्वको क्याविनेटमा खानेपानी मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

Array