सरकारबारे तीन नेताका तीन कुरा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८०, शनिबार
2 Min Read
Aa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताएका हुन्।

- Advertisement -
Ad imageAd image

महामन्त्री थापाले सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको र अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्नेमा जोड दिए। महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने समेत बताए।

माधव असन्तुष्ट
यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाए।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे।

गठबन्धन पाँचैबर्ष
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले यो गठबन्धन समझदारीका साथ अगाडि बढ्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको समेत बताए। अर्थतन्त्र बढी नै धरासायी हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट पास होला कि नहोला भन्ने तरङ्ग भएपनि अब त्यो चिन्ता नरहेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्