बैकल्पिक समीकरणको खोजी, कांग्रेस-एमाले मिल्ने सम्भावना कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०८०, आईतवार
3 Min Read
Aa

आगामी आर्थिक बर्षको बजेट पारित गर्ने समय नजिकिदा सत्तारुढ दलहरुभित्रै असन्तुष्टि बढेपछि नयाँ राजनीतिक समीकरणको खोजी हुन थालेको छ । सरकारमै सामेल नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले औपचारिक रुपमै बजेट पास हुन नदिने निर्णय गरेका छन् भने जनमत पार्टीले पनि यथास्थितीमा बजेट पास हुन नदिने अडान कायम राखेको छ ।

सत्तारुढ कांग्रेस तथा माओवादीकै सांसदहरुले समेत बजेटमाथि असहमति जनाएका छन् । बजेटकै कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार टिकाउन मुस्किल पर्ने देखिएको छ । संसदमा बजेट पारित नभए प्रचण्ड नेतृत्वको सरकार ढल्नेछ । यही बिचमा प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चाको समेत घोषणा भएपछि कांग्रेस शशंकित बनेको छ ।

सत्तारुढ गठबनधनभित्रै उप-गठबन्धन बनाउनुले समेत सरकारको आयु केही समय मात्रै रहेको स्पष्ट पार्ने जानकारहरु बताउँछन् । यहीबीचमा स्थीर सरकारका लागि कांग्रेस-एमाले गठबन्धनको सम्भावनाका बारेमा समेत चर्चा चुलिन थालेको छ ।

केही दिनअघि मात्रै नेकपा एमालेका नेताहरुले आफूहरुले चाहे एक सातामै सरकार ढाल्नसक्ने बताएका थिए । एमालेले अहिले नयाँ सम्भावनाको खोजी गरिरहेको छ । चुनाव सम्पन्न भएलगत्तै एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरिसकेकाले समेत कांग्रेस तयार भएमा यो समीकरणको सम्भावना बलियो देखिन्छ ।

यहिबीचमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने र नयाँ सरकार बन्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धन ठिक ढंगले चल्ने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए।

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने ।

उनको यो अभिब्यक्तिले पनि दुबै पार्टी तयार भए कांग्रेस-एमालेको समीकरण बन्नसक्नेमा दुईमत देखिदैन । कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएलगत्तै समीकरण फेरिनसक्ने चर्चा समेत राजनीतिक बृतमा चुलिएको छ।

शुक्रबारमात्रै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेले दलाल पुँजीवादी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अपर गर्न लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनले भनेका थिए,‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला ? कस्तो चरित्र होला ? अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्। समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’

कांग्रेस-एमाले मिल्नुको विकल्प छैन्: महेश बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि राजनीतिक स्थीरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प नरहेको बताएका छन्। बर्तौलाले पहिलो दलको हिसाबले कांग्रेसले यसअघि नै आफ्नै नेतृत्वमा सरकार गर्न सक्नुपर्नेमा जोड दिए।

एमालेको ढाडमा टेकेर कांग्रेसलाई प्रहार गर्ने र कांग्रेसको ढाडमा टेकेर एमालेलाई प्रहार गर्ने प्रवृतिका विरुद्ध मिल्नुको विकल्प नरहेको उनको भनाई छ। यसअघि पनि बर्तोलाले एमालेले चाहे एक हप्तामै सरकार परिवर्तान गर्नसक्ने तर एमाले त्यस्तो खेलमा नलाग्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array