बाबुराम भट्टराई, जनमत, नाउपा र आम जनता पार्टीसहितको अर्को मोर्चा बनाउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८०, बुधबार
2 Min Read
Aa

सरकारलाई समर्थन गरेका नौ दलीय गठबन्धनभित्र रहेका चार दलले ‘समाजवादी’ मोर्चा गठन गरेसँगै गठबन्धनभित्रै अर्को मोर्चा बनाउने गृहकार्य गरिरहेका छन्।

अन्तिम समयमा सहभागी नगराएपछि बाबुराम भट्टराईले ‘समाजवादी’ मोर्चालाई काउन्टर दिँदै विभिन्न चार राजनीतिक दलसहितको मोर्चा बनाउने तयारी गरेका छन्।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र प्रभु शाह अध्यक्ष रहेको आम जनता पार्टीबीच नयाँ मोर्चा घोषणाको तयारीमा रहेका दलका नेताहरु छलफलमा जुटेका छन्।

स्रोतका अनुसार ‘समाजवादी’ मोर्चालाई काउन्टर दिनकै लागि भट्टराईकै नेतृत्वमा पार्टीका नेताहरु छलफलमा जुटेका हुन्।

सोमबार सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरिएको छ।

समाजवादी मोर्चाका सूत्रधार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नै आउट गरेर संविधान प्रदत्त समाजवाद स्थापना गर्ने भन्दै ‘समाजवादी’ मोर्चा गठन गरिएको छ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ (एक निलम्बन), एमालेका ७९ (दुई निलम्बन), माओवादीका ३२(नेसपाका २ सहित), राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार, जनमोर्चा र नेमकिपा एक–एक, आम जनता पार्टीका एक र  २ जना स्वतन्त्र सांसद छन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५२ सिटसहित समाजवादी मोर्चा संसद्को तेस्रो शक्ति बनेको छ। संसद्‍मा बलियो उपस्थिति देखिनकै लागि जनमतका ६, नागरिक उन्मुक्तिका चार, नेसपाका २, आम जनता पार्टीका १ र स्तन्त्र सांसद २ जना गरी १५ सिटसहित नयाँ मोर्चाको तयारी गरेका हुन्।

स्रोतका अनुसार नयाँ मोर्चा गठनका विषयमा नेताहरुबीच विभिन्न चरणमा अनौपचारिक वार्तासमेत भएका छन्। बाबुरामकै नेतृत्वमा नयाँ मोर्चा गठन गर्न अन्य तीन दल सकारात्मक रहेको बताइएको छ। मोर्चामा लोकतान्त्रीक समाजवादी पार्टीलाई पनि ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।

यसको गठनको बहस भएदेखि नै योजनाकार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अन्तिचम समयमा सहभागी भएनन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो योजना अनुरुप बनेको समाजवादी मोर्चामा आफूलाई लत्याइएपछि सामाजिक सञ्जालमा व्यंग्यपरक टिप्पणी गरेका थिए।

उनले सामाजिक सञ्जालमा कोइलीको आवाजसहितको भिडियो पोष्ट गर्दै लेखेका थिए, ‘गुँड लगाउने काग! फुल पार्ने र गाउने कोइली१ प्रकृतिको कस्तो लीला!’

प्रतिक्रिया दिनुहोस्

Array