कांग्रेस-एमालेको बन्ला त नयाँ सत्ता समीकरण ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८०, बुधबार
4 Min Read
Aa

चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई छ ।

यसैबीच नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एमाले–कांग्रेसबीचको नयाँ सत्ता समीकरण बन्ने सम्भावना नै नरहेको बताएका छन् । आज (मंगलबार) संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले वर्तमान सत्ता समीकरण परिवर्तन गर्न सहज नरहेको बताएका हुन् ।

‘कांग्रेस–एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन । नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन । यसमा कोही तर्सिन जरुरी छैन,’– उनले भने । त्यसैगरी संसद् भवनमै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले समाजवादी मोर्चा नेपालको धारणामा एकरुपता नभएको टिप्पणी गरे। उनले नेत्रविक्रम चन्द र उपेन्द्र यादवको समाजवादमा पुग्ने बाटो एकै नभएको टिप्पणी गरेका हुन् ।

‘समाजवादी मोर्चा भनेर जो–जो पार्टी बसेर हिजो बनाउनु भएको छ, पहिलो कमेन्ट मेरो के छ भने समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रविक्रम चन्दले समाजवादमा पुग्ने बाटो एउटै हो ? अहिलेको संविधानप्रति उहाँहरुको दृष्टिकोण समान छ ? संविधान च्यात्ने पनि त उहाँहरु नै हो । हामीले बनाएको संविधान भनेर गर्व गर्ने पनि हुनुहुन्छ,’– उनले भने ।

अहिलेको संविधान र यो व्यवस्थालाई हेर्ने दृष्टिकोण समान नभएकाहरु बीचमा मोर्चा बनेको उनको टिप्पणी छ । उनले उक्त मोर्चालाई ‘प्रौढहरुको क्लब’ को संज्ञा दिए । साथै, कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाउने विषय अहिले नसोचेको उनको भनाई छ । अहिलेको गठबन्धन सरकारले नेपालको संविधान, अन्तराष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक व्यवस्थालाई धरासायी बनाएको उनको आरोप छ । यस्तो अवस्थामा पनि कांग्रेसले रमिता हेरिराखेको उनको टिप्पणी छ । मुलुक यसरी धेरै समय अगाडि बढ्न नसक्ने उनको दाबी छ । ‘कांग्रेस–एमाले मिल्ने कि नमिल्ने भन्ने कुरा अहिले हामीले सोचेको छैनौं । परिस्थिति कसरी निकास हुन्छ हैन,’– उनले भने ।

यद्यपि कांग्रेससभापति देउवा सिंगापुरबाट फर्किनेबित्तिकै एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । उनी अहिले उपचारको क्रममा पत्नी डा. आरजु राणासहित सिंगापुरमा छन् । यो बीचमा एमाले नेतृत्वले माओवादीसँगको गठबन्धन तोडेर नयाँ रुपमा अघि बढ्न सभापति देउवालाई प्रस्ताव पठाएको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दसहितको समाजवादी मोर्चा नेपाल घोषणा गरेकोमा कांग्रेस सभापति देउवा रुष्ट छन् । एउटा गठबन्धन हुँदाहुँदै अर्को गठबन्धन गठन गरेपछि देउवा दाहालसँग रुष्ट बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा छन् ।

उनले यो बीचमा आफ्ना विश्वासपात्रमार्फत सभापति देउवासँग सम्पर्क बढाएका छन् । देउवा र ओलीबीच तत्काल सत्ता सहकार्यको लागि शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे पनि छलफल भएको बुझिएको छ । तर, एमाले नेतृत्व पँक्तिभित्र पनि शेखरलाई भन्दा देउवालाई नै प्रधानमन्त्री जानुपर्ने मत बलियो भएपछि ओली त्यसबारे पनि सकारात्मक बनेका छन् ।

एमाले नेतृत्वले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि हरेक विकल्पमा छलफल खुला राखेको छ । एमालेले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि प्रधानमन्त्रीको लागि अफर गरेको चर्चा छ । तर, प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर रुष्ट बनेका देउवा माओवादीसँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गर्न राजी भएको सन्देश बालकोट पुगेपछि अहिले एमाले नेताहरु खुशी भएका छन् । देउवा स्वदेश फर्किएलगत्तै एमाले–कांग्रेस सहकार्यको लागि पहल सुरु गरिनेगरि दुवै दलका नेतृत्वकर्ताका विश्वासपात्रहरु सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array