सरकारलाई ११ महिनामा ३ खर्ब घाटा, विकास खर्च र साँवा ब्याज पूरै ऋणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८०, शुक्रबार
4 Min Read
Aa

आर्थिक वर्ष सकिने बेला हुँदा पनि बजेट खर्च न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको ११ महिनासम्म जम्मा ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

जेठ ३१ गतेसम्म कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएको महालेखाको तथ्यांक छ । उक्त अवधिमा सरकारको कुल आम्दानीले कर्मचारीलाई तलबभत्ता खुवाउने खर्चको मात्रै जोहो भएको छ ।

विकास र ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋण नै खोज्नुपर्ने स्थिति देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा सरकारले ८ खर्ब ७८ अर्ब २ करोड ८ लाख रुपियाँ आम्दानी गर्दा कर्मचारीको तलबभत्तालगायतको सरकारी खर्च हुने चालूतर्फ ८ खर्ब ७६ अर्ब २ करोड ८२ लाख रुपियाँ खर्च भएको छ ।

सो आधारमा जम्मा १ अर्ब ९९ करोड रुपियाँ बचत भएको देखिन्छ । तर, सरकारले कुल खर्च ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ गरेको हुँदा सरकारलाई करिब ३ खर्ब रुपियाँ खुद घाटा देखिएको छ ।

चालू आर्थिक वर्षमा सरकारको कुल आम्दानी र चालू खर्च बराबरजस्तै देखिँदै आएको छ । सरकारले बाँकी रहेको एक महिनाको अवधि अर्थात् असार मसान्तसम्म विनियोजित बजेटमध्ये करिब ६ खर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ ।

आन्तरिक र बाह्य ऋणको साँवा ब्याजको किस्ता, कर्मचारीको तलब भत्तालगायत निर्माण सम्पन्न भएका आयोजनाको बिल भुक्तानी गर्दा सो बराबरको रकम खर्च हुने सम्भावना छ । तर, भुक्तानी दिने स्रोत भने निश्चित छैन । लक्ष्यको तुलनामा अत्यन्तै न्यून राजस्व संकलन हुँदा सरकारलाई आफ्नो खर्च व्यवस्थापन गर्न चुनौती भइरहेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ ३१ गतेसम्म लक्ष्यको ५९ दशमलव ५१ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब २६ लाख रुपियाँ मात्रै राजस्व संकलन भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । जसमध्ये कर आम्दानीबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख, गैरकर आम्दानीबाट १ खर्ब ७७ अर्ब ७ करोड, अनुदानबाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपियाँ रहेको छ ।

उक्त लक्ष्यमध्ये ११ महिनाको अवधिमा कर आम्दानीतर्फ ७ खर्ब ५७ अर्ब २६ करोड २० लाख अर्थात् ५८ दशमलव ४६ प्रतिशत, गैरकर आम्दानीबाट ७७ अर्ब ७४ करोड ६ लाख अर्थात् ७२ दशमलव १३ प्रतिशत, अनुदानतर्फ ४ अर्ब ८० करोड २० लाख रुपियाँ अर्थात् ८ दशमलव ६६ प्रतिशत र अन्यतर्फ ३८ अर्ब २१ करोड ६२ लाख रुपियाँ आम्दानी गरेको छ ।

त्यसै गरी सरकारले सोही अवधिमा चालूतर्फ ८ खर्ब ७६ अर्ब २ करोड ८२ लाख रुपियाँ अर्थात् ७४ दशमलव शून्य ४ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ १ खर्ब ५१ अर्ब ४३ करोड ९७ लाख अर्थात ३९ दशमलव ८१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख अर्थात् ६३ दशमलव २४ प्रतिशत गरी ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ खर्च हुने अनुमान गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: