देउवा-कोइराला नजिकिँदै, देउवा कै सहयोगमा सभापति बन्ने शेखरको दाउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक रुपमा घोषणा गरे। कांग्रेस विधानले सभापतिमा दुई पटक भन्दा बढी सभापति बन्न नपाइने व्यवस्था गरिएको छ।

विधानको बन्देज र बढ्दो उमेरका कारण देउवाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने बताइरहँदा १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिश्पर्धा गरेका डा. शेखर कोइराला देउवासँग नजिकिन थालेका छन्।

आगामी महाधिवेशनमा जसरी पनि सभापति बन्ने दाउमा रहेका डा. कोइराला त्यसका लागि देउवाकै सहयोग लिने दाउमा रहेको उनी निकट स्रोतले जनाएको छ।

कुनै समय देउवाको कडा आलोचक देखिएका डा. कोइराला पछिल्लो समय देउवासँग नजिकिएका मात्रै छैनन्। पार्टीलाई एक बनाएर लैजानुपर्ने अभिव्यक्ति दिन थालेका छन्।

देउवा र कोइराला नजिकिन थालेपछि कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापा भने अप्ठेरोमा परेका छन्। गगनको महत्वकांक्षा बढ्दै जाँदा आफूलाई नै अप्ठेरो पर्ने ठानेका डा.कोइराला देउवासँग नजिक हुँदै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने दाउमा लागेपछि महामन्त्री थापा अप्ठेरो परिस्थितिमा पुगेका हुन्।

वर्तमान सरकार विस्तार गर्दासमेत शेखरले गगनसँग छलफल नै नगरि आफू निकट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए। हाल कोइराला समूहबाट वर्तमान सरकारमा कानुनमन्त्री धनराज गुरुङ र खेलकुद मन्त्री डिकबहादुर लिम्बू मन्त्री छन्।

महामन्त्री थापाले युवा नेता प्रदीप पौडेल वा जीवन परियारमध्ये एक जनालाई मन्त्री बनाउन गरेको प्रयास सफल हुन सकेको थिएन। त्यही विन्दुबाट शेखर र गगनबीचको दूरी बढ्न सुरु भएको थियो।

महामन्त्री थापाले पछिल्लो समय नेतृत्वमाथि निरन्तर प्रहार गर्दै आएका छन्। विशेष गरी सभापति देउवामाथि गगनको प्रहार केन्द्रित छ। यसअघि संसदीय दलमा आफूलाई समर्थन गर्न बाध्य बनाएको भन्दै शेखर पनि देउवासँग नजिकिएका छन्, जसबाट सशंकित भएर महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन नसकिने बताउन थालेका छन्।

महामन्त्री थापाले आफू सभापति हुने हतार गरिरहँदा यसअघि ‘एकपटक यसैपटक’ नारा लगाएर सभापतिको उम्मेदवार बनेका शेखर कोइराला भने आफू जसरी पनि पार्टी सभापति हुने ध्याउन्नले देउवासँग नजिकिन थालेका हुन्।

यति मात्र नभएर पछिल्लो समय शेखरले देउवासँग मञ्च सेयर नै गर्न थालेका छन्। शुक्रबार चितवनमा एकै मञ्चमा देखापर्नुभएका देउवा र कोइराला शनिबार भक्तपुर जिल्ला सम्मेलनमा एकै मञ्चमा देखिए।

१४ औं महाधिवेशनमा एकअर्कासँग प्रतिस्पर्धा गरेर पछिल्लो समय नजिकिन थालेपछि कार्यकर्तामा उत्साह थपिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्मा बताउँछन्।

आफूलाई रोक्न देउवा र कोइराला मिल्न थालेको महशुस गरेका गगन हतोत्साही भएर नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको चर्चा कांग्रेसवृत्तमा छ।

निर्वाचनपछि एमालेको सहयोगमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि देउवा र कोइरालाबीचको सम्बन्धमा सुधार आउन थालेको थियो।

महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि आमन्त्रण गर्दै आएका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने विषयमा पनि शेखरले सभापति देउवाकै चाहनाअनुसार सहमति जनाएका थिए। यसरी देउवा र कोइराला नजिकिँदै गर्दा महामन्त्री थापा भने अप्ठेरोमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array