वैदेशिक रोजगारीमा विदेश जाने बढेसँगै रेमिट्यान्स बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८०, शनिबार
2 Min Read
Aa

पछिल्लो समय विप्रेशन अर्थात रेमिट्यान्स लगातार बढिरहेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु वर्षको बैशाखमा विप्रेषण आप्रवाह १००५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरि, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च हुँदै आएको छ । मासिक रूपमा हेर्दा गएका नौ महिनामध्ये पछिल्ला पाँच महिनामा प्रतिमहिना १ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार रेमिट्यान्स बढ्दा अर्थतन्त्रका बाह्य सूचकहरू सवल बन्दै गएकोे देखाएको छ ।

चालु आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १००५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई १११० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

कुन महिनामा कति भित्रियो रेमिट्यान्स ?

साउन रु.९२.२ अर्ब

भदौ रु. ९४.८ अर्ब

असोज रु. ९४ अर्ब

कात्तिक रु. ९७ अर्ब

मंसिर रु.१ खर्ब २ अर्ब ५० करोड

पुस रु.१ खर्ब ४ अर्ब ६० करोड

माघ रु.१ खर्ब ४ अर्ब ८० करोड

फागुन रु.१ खर्ब ४ अर्ब ४० करोड

चैत रु.१ खर्ब ९ अर्ब १० करोड

बैशाख रु.१ खर्ब ९ अर्ब १८ करोड

वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार आएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्