‘अखण्ड भारत’ को नक्सालाई काउण्टर दिँदै मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

भारतले अखण्ड भारतको नाममा नेपालको भूमि समेटेर सार्वजनिक गररेको नक्साको सर्वत्र विरोध भइरहँदा मेयर शाहले महानगरको कार्यकक्षमा सुगौली सन्धी अघिको विशाल नेपालको नक्सा राखेका हुन्।

यस अघि नेपालको भू-भाग समेटिएको नक्सा नवनिर्मित संसद भवनमा भारतले सार्वजनिक गरेको थियो। भारतको उक्त कदमको सर्वत्र विरोध भइरहँदा मेयर शाहले हाल भारत शासित तत्कालीन अंग्रेजको शासनकालमा खोसिएको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गरेका हुन्।

गत बुधबार नेपालको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीमा पुगेका परराष्ट्र मन्त्री एनपी साउदले अखण्ड भारतको नक्साबारे अनभिज्ञता प्रकट गरेका थिए।

उनले भारतीय टेलिभिजन आज तकमा अन्तरवार्ता दिँदै अखण्ड भारतको नक्सामा नेपालको भू-भाग समेटिएकोबारे नेपाल सरकार बेखबर रहेको बताएका थिए।

नेपाललगायत पाकिस्तान र बंगलादेशको भूमि पनि समेटिएको अखण्ड भारतको नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने बताएको छ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरिया आलमले ढाकामा पत्रकारहरुसँग कुराकानी गर्दै भारत सँग स्पष्टीकरण माग्ने सार्वजनिक रुपमा बताएका छन्।

तर, नेपालका परराष्ट्र मन्त्री एनपी साउदले भारत सामु नतमस्तक हुँदै नेपाल सरकारलाई कुनै जानकारी नभएको गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए।

नेपालको कपिलबस्तु र लुम्बिनी समेटिएको उक्त नक्साबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन।

यही परिवेशमा देशको राजधानीमा अवस्थित महानगरका प्रमुख शाहले भने भारतको नक्सालाई काउण्टर दिँदै ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन्। उनको साहसिक कार्यको चौतर्फी प्रशंसा हुन थालेको छ।

नेपाल अंग्रेज युद्धको क्रममा नेपालले सुगौली सन्धीमार्फत एक तिहाइ भूमि गुमाएर हालको आकारमा सिमित भएको हो। त्यसअघि नेपालको सिमाना पूर्व टिस्टादेखि पश्चिममा काँगडासम्म फैलिएको थियो।

भारतमा शासन गरिरहेको बेलायती इष्ट इण्डिया कम्पनीले नेपालमा आक्रमण गरेपछि द्विपक्षीय रुपमा सुगौली सन्धी भएको थियो। अपमानजनक रुपमा सन १८१६ मा भएको उक्त सन्धीले नेपालले अधिकांश भूभाग गुमाएर आजको अवस्थामा खुम्चिन पुगेको हो।

यद्यपि त्यतिबेला गुमाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भारतमा अंग्रेज शासनकालमा सन १८५७ मा भएको सिपाही विद्रोह दबाउन नेपालले सहयोग गरे बापत पछि फिर्ता पाएको हो। जसलाई अहिले पनि नयाँ मुलुक भन्ने गरिन्छ।

नेपालले गुमाएको उक्त भूमि अंग्रेजले भारत छाडेर जाँदा सन १९४७ मा नेपाललाई सुम्पिन खोजेपनि तत्कालीन नेपालका राणा शासकहरुकै अकर्मण्यताले प्राप्त गर्न नसकेको बताइन्छ।

पछिल्लो समय भारतले अखण्ड भारतको नक्सामा नेपालको भूमि समेटेर सार्वजनिक गरिएपछि यो विषय फेरि बहसमा आएको छ । सुगौली सन्धी अंग्रेज शासकसँग गरिएको हुँदा उक्त भूमि भारत स्वतन्त्र भएपछि नेपालको मातहत हुनुपर्ने कतिपयले दावा गरिरहेका छन्।

अंग्रेज शासनबाट मुक्त भएपछि स्वतन्त्र राष्ट्रको हैसियतले भारतसँग पहिलो पटक गरिएको १९५० को नेपाल भारत मैत्री सन्धीले सुगौली सन्धीलाई विस्थापन गरेको जानकारहरुको तर्क छ। यसर्थ उक्त भूमिमा हालसम्मै नेपालको दाबी रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

Array