गर्मीले देशभरका मानिसकाे जनजीवन कष्टकर: अस्पतालमा विरामीको चाप, विद्यालय धमाधम बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको हाे ।

गर्मी बढेकोले मानिसहरुको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको रहेको बताएको छ ।

- Advertisement -
Ad imageAd image

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ । आज नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी गर्मी महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो । यस्तै जेठ १८ गते रौतहटको गौरमा ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ ।

यस्तै बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए।

विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको छ । तराईका अस्पताल पनि मौसमी रुघाखोकी र भाइरल फ्लुका बिरामीले अस्पताल भरिभराउ भएका छन् ।

यस्तै गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय धमाधम बन्द गर्न थालिएको छ । गर्मी बढ्दै गएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय यही जेठ २१ गते आइतबारदेखि २३ गते मङ्गलबारसम्मका लागि बन्द गरिएको ती पालिकाले जनाएका छन् ।

यस्तै गर्मी बढेकै कारण तनहुँको देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निणर्य गरिसकेको छ । उता गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू एक हप्ता बन्द गरिने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ । सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन रोकिनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्