नक्कली शरणार्थी प्रकरणः ओली, प्रचण्ड, प्रेम राईलगायतलाई अनुसन्धानमा ल्याउन माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित पक्षका तर्फबाट गरिएको बहस सकिएको छ । ८ सरकारी र ६ निजी गरी १४ जना वकिलले अभियुक्तलाई कुनै हालतमा छाड्न नहुने जिकिर गरेका छन् ।

निजी कानून व्यवसायीहरुमा स्वागत नेपाल, सुशील शर्मा सापकोटा, राधिका चौलागाईं, दीपकराज रेग्मी, ध्रुवलाल श्रेष्ठ र हरि कुँडारीले पीडित पक्षका तर्फबाट बहस गरे।

निजी वकिलहरुमध्ये हरि कुँडारीले अभियुक्तहरुले बयानमा बोलेकाहरुलाई पनि अदालतले प्रतिवादी बनाउँदै जुडिसियल नोटिस पठाउन माग गरेका छन्।

अभियुक्तहरुले नाम लिएकाहरुलाई अदालतले नै प्रतिवादी कायम गर्न सकिने उनको जिकिर थियो । प्रहरी नियन्त्रणमा रहेकाहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी एवं प्रतिनिधिसभा सदस्य आरजु राणा, पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य मञ्जु खाणको नाम लिएका छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख एवं पूर्वगृहसचिव प्रेम राई, पूर्वगृहमन्त्री रामबहादुर बादलकी श्रीमती नैनकला थापालगायतको समेत नाम पोलिएको छ । टेकनाथ रिजालले बयानका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन समयमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेट गरी सो सम्बन्धमा कुराकानी भएको बयान गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसअन्तर्गत मंगलबार पीडित पक्षलाई दिइएको तीन दिनको समय सकिएको छ । बुधबारबाट १८ प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् ।

प्रतिवादीका तर्फबाट बहस गर्न एक सयभन्दा बढीले वकालतनामा भरेका छन् । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निणर्य लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array