प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ऊर्जा क्षेत्रमा कोसेढुंगा: घिसिङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमण एकदमै उपलब्धिमूलक भएको बताएका छन् । भारतसँगको ऊर्जा सम्झौताले नेपालको आर्थिक क्षेत्रले नै फड्को मार्ने परिस्थिति उनको टिप्पणी छ ।

नेपाल र भारतबीच सम्पन्न ऊर्जा व्यापार, ट्रान्समिसन, जेनेरेसन र रिजनल मार्केटका लागि भएका सम्झौता समग्र ऊर्जा क्षेत्रका लागि कोसेढुंगा भएको घिसिङले औंल्याए । ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले लिने विश्वास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आउनुले बजार मात्र सिर्जना भएको छैन, थप जलविद्युत् क्षेत्रमा थप लगानी पनि आउँछ । यो ऊर्जा क्षेत्रमा माइलस्टोन हो । त्यस अर्थमा यो भ्रमण एकदमै उपलब्धिमूलक भएको छ । यसले नेपालको आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्नेछ,’ प्राइम टाइम्स टेलिभिजनका लागि नयाँदिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग उनले भने ।

१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्नुहुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा घिसिङले भने, ‘बल्ल त बजार खुला हुँदैछ । बजारको सुनिश्चितता भएपछि उत्पादन नहुने कुरै छैन । अहिले १० वर्षमा १० हजार मेगावाटको लक्ष्य राखिएको छ, १५–२० वर्षमा त्यो स्वतः बढिहाल्छ नि ।’

कार्यकारी निर्देशक घिसिङले नेपालको ४० देखि ५० मेगावाट विद्युत् बंगलादेश पठाउनका लागि प्राविधिक कुरा मात्र बाँकी रहेको पनि बताए । उनले भने, ‘मुख्य कुरा नेपालको विद्युत् व्यापारका लागि दीर्घकालीन रुपमा बजार खुला भएको छ । यसका लागि बुटवल–गोरखपुर ट्रान्समिसन लाइनको प्रक्रिया अगाडि बढिसकेको छ ।’ तल्लो अरुण  र फुकोट कर्णालीको सम्झौताले पनि ऊर्जा क्षेत्रमा उत्साह थपेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array