देउवाले आश्वासन दिएको ३२ वर्ष बित्दासमेत दैजी-जोगबुढा सडक बनेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

टंक खाती – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले २०४८ को पहिलो आमनिर्वाचनमा भनेका थिए- कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्न यो सडक अविलम्ब निर्माण हुन्छ ।

२०४८ यता देउवाले निरन्तर चुनाव जित्दैँ आएका छन् । त्यसपछिका हरेक निर्वाचनमा यो सडक प्रधानमन्त्री देउवा र अन्य दलका नेताहरूको चुनावी मुद्दा बन्यो । तर, देउवाले ०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बनिसक्दा पनि यो सडक बन्न सकेन । यो सडक खण्ड नबन्दा वर्षायाममा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

यसैबीच सरकारले दैजी-जोगबुढा र डडेल्धुरा सडक खण्डको स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारले दैजी जोगबुढा र डडेल्धुरा सडक स्तरोन्नतिका लागि सो रकम विनियोजन गरिएको जनाएका हुन् ।

सरकारले उक्त बजेट विनियोजन गरेको जानकारी दिएपछि सामाजिक सञ्जालमा सरकारले जति बजेट विनियोजन गरेपनि सडकको अवस्था बने उस्तै रहने टिप्पणी भइरहेका छन् । दैजीदेखि डडेल्धुराको जोगबुढा हुँदै मेलौली जोड्ने सडकको लम्बाई ८२ किलोमिटर छ। सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमनका लागि दैजी जोगबुढा सडक अत्तरिया डडेल्धुरा सडक खण्डभन्दा कम पर्छ ।

महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुराको दूरी एक सय ६५ किलोमिटर पर्छ भने महेन्द्रनगरदेखि दैजी जोगबुढा हुँदै डडेल्धुरा जान ६५ किलोमिटर दूरी कम हुन्छ । पहाडी जिल्लाको छोटो दूरीका हिसाबले दशकौँअघि निर्माणको सुरसार गरिएको दैजी-जोगबुढा सडक खण्डको गति अझै बढ्न सकेको छैन । वर्षायाम लागेपछि यस सडक खण्डमा सवारी साधन ठप्प हुन्छन् । यस वर्षको वर्षायाममा पनि यो सडकमा सवारी सधान ठप्प नै हुने देखिन्छ । हाल पनि यस सडक खण्डको अवस्था उस्तै छ ।

सामान्य वर्षा परेपनि हिलाम्मेसँगै पहिरो गएर सवारी साधन ठप्प हुन्छन् । हाल सरकारले यस सडक खण्डको स्तरोन्नतिका लागि ३० करोड विनियोजन गरेको छ । सरकारले बजेट विनियोजन गरेपनि यस वर्षकाे वर्षायाममा पनि यो सडकखण्डको अवस्था उस्तै रहेन प्रष्ट नै देखिएको छ । यसभन्दा अघि पनि सरकारले पटक पटक वजेट छुट्याएको थियो । तर, दशकौँअघि निर्माणको सुरसार गरिएको यस सडक खण्डको अवस्था भने फेरिएकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

Array