यी हुन् प्रचण्डको दिल्ली भ्रमणका भित्री एजेण्डा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयको पर्खाइपछि जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने घोषणा गरेका प्रचण्डले यसअघिको चीनको बोआओ भ्रमण स्थगित गरेका थिए । भारत भ्रमणमा के कस्ता कार्यक्रम समेटिएका छन् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस ११ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने घोषणा गरेका थिए । तर सरकार गठन भएको दुई महिनाभित्रै गठबन्धन बदलियो । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेस क्याम्पमा पुगे । गठबन्धनको फेरबदल, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लगायतले गर्दा उनले अन्य विषयलाई समय दिन सकेनन् ।

गत चैतमा चीनको बोआओ सम्मेलनमा प्रचण्ड सहभागी भएनन् । चीनको हेनान् प्रान्तमा गत चैत १४ देखि १७ को ‘बोआओ फोरम फर एशिया’ मा सहभागीताका लागि चिनिया राजदूत छन सोङले फागुन १० मै निम्तो दिएका थिए । तर, पहिलो भारत भ्रमणका लागि प्रचण्डले अनेक तारतम्य मिलाए पनि भारतले वास्ता गरेन । लामो पर्खाइपछि जेठ १७ गते भारत भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका तय भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ । चार दिने भारत भ्रमणको क्रममा प्रचण्डले सीमा क्षेत्रको समस्या लगायत राष्ट्रियताका विषयमा स्पष्ट कुरा राख्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलो भारत भ्रमणका क्रममा इपीजी इपीजी लगायतका विषयमा स्पष्ट कुरा राख्न परराष्ट्रविद्हरुले सुझाव दिएका छन् । भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारेमा प्रचण्डले यसअघि विभिन्न विज्ञहरुसँग छलफल गरेका थिए । सत्तारुढ माओवादी केन्द्र पछिल्लो समय वैदेशिक शक्ति केन्द्रको घेराबन्दीमा रहेको निश्कर्षसहित प्रचण्डले भारतसँगको सम्बन्धलाई पनि विस्तार गर्न चाहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दोस्रो दिन जेठ १८ गते भारतीय समकक्षी मोदीसँगको द्विपक्षीय हितका बारेमा भेटवार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य गरिरहेका प्रचण्डले यो भ्रमणमा नयाँ रेकर्ड बनाउने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा हालसालै नेपाल सरकारले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी नेता पिपुल लिवरेशन फ्रन्ट अफ इण्डियाका प्रमुख दिनेश गोपलाई सुपुर्दगी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array