विद्युत् निर्यात सुरु, खेर जाने जोखिम कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो ।

प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने उनले बताए। केही विद्युत् आयोजना र प्रसारण लाइन मर्मतका काम नसकिएकाले आइतबार निर्यात नहुने उनले जानकारी दिए ।

“मर्मतको काम सकियो भने हाम्रो उत्पादन बढ्दै जान्छ र सोही अनुसार निर्यात परिमाण पनि बढाउँदै लैजान्छौँ,” उनले भने, “सोमबारदेखि अवस्था हेरेर निर्यात निरन्तर गर्ने प्रयास हुनेछ ।” प्रतियुनिट औसत सात रुपियाँका दरले निर्यात भएको हो ।

प्राधिकरणले गत वर्ष पुस ३ गतेदेखि निर्यात बन्द गरेको थियो । प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट विद्युत् निर्यात सुरु गरेर पुस ३ सम्ममा करिब ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट छ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत वर्ष कात्तिकमा थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । आगामी असार मसान्तसम्म करिब २८ सय मेगावाट जडित क्षमता पुग्दै छ । विद्युत् उत्पादन बढ्दो भए पनि पिक डिमान्ड भने १४ सय मेगावाटको आसपास रहन्छ । प्राधिकरणले हालसम्म १० वटा जलविद्युत् आयोजनाको ४५२।६ मेगावाट विद्युत् विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा निर्यातको अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयले यस्तो अनुमतिलाई हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान राखेको छ । प्रवक्ता भट्टराईका अनुसार आइइएक्समा विद्युत् निर्यातका लागि नवीकरणका अतिरिक्त थप आयोजनाबारे पनि प्रक्रिया चलिरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्

Array