काभा महिला भलिबल च्यालेञ्‍ज कप: नेपाल भारतसँग पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेञ्ज कप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा भारतले ३–१ को रोमाञ्चक जित हात पार्‍यो ।

खेलमा नेपालले चुनौती प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार रोक्न असफल भयो । निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्‍यो । रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यसअघि तेस्रो सेटमा पहिलो पटक नेपालले १९–२३ बनाएर चार अंकको अग्रता लिएको थियो । तर, प्रगति नाथले सर्भिस कोर्टमा राख्न नसक्दा अंक २०–२३ मा पुगेको थियो । यद्यपि, सरस्वती चौधरीले चतुर्याईपूर्वक अंक जितेपछि नेपाल सेट प्वाइन्ट नजिक पुगेको थियो ।

फेरि एक पटक भारतको सशक्त स्पाइक नेपालले उठाउन नसक्दा अंक २१–२४ मा पुगेको थियो । यद्यपि, भारतको सर्भिस आउट भएसँगै नेपालले तेस्रो सेट २१–२५ ले आफ्नो पक्षमा पार्‍यो । नेपालले तेस्रो सेट जित्दा निरुता ठगुन्नाले सर्वाधिक ६ तथा सरस्वती चौधरीले चार अंक जोडेकी थिइन् ।

दोस्रो सेटमा भारतलाई कठिन चुनौती दिएको नेपालले २६–२४ ले सेट गुमाउनु पर्‍यो । प्रतिस्पर्धात्मक सेटमा नेपालले पटक–पटकको अग्रता जोगाउन नसक्दा नजिक पुगेर पनि सफल भएन । राम्रो सुरुआत गरेको नेपालले १३–१६ को अग्रता बनाएको थियो । अन्तिम समयमा २१–२३ को अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई तीन अंक दिएरमात्र एक अंक लिन सक्यो । सोही अंकसँगै २४–२४ मा पुगेको खेलमा भारतले निरन्तर दुई अंक जोड्दै २–० सेटको अग्रता बनायो ।

त्यसअघि पहिलो सेटमा हतास देखिएको नेपालले राम्रो सुरुआत गर्न सकेन । संगम महतोले क्विक स्पाइकमार्फत सेटको दोस्रो अंक जोड्दै १–१ बराबरी गराएकी थिइन् । तर, त्यसपछि डिफेन्स र ब्लकमा निरीह बनेको नेपालविरुद्ध भारतले लगातार अंक जोड्दै अग्रता ११–२ मा पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array