काठमाडौं – नेपालको उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन थालेको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको जनाइएको छ ।
साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले सात हजार १०० टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले तीन हजार ५०० टन कृषि सामग्री र चार हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको बताए ।
केही समयअघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताउँदै उनले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १०० टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए । उनले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताए ।
तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक नौवटासम्म मलका कन्टेनर ल्याएको बताउँदै उनले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताए । सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने उनले बताए ।
सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको उनले बताए । भन्सारमा आएको मलको परीक्षण र इन्स्पेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने उनले बताए । रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्