क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु: प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए आफै जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’

उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ’यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array