सिराहा – सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प गर्ने घोषणा गरिएको छ ।
कमलामाई सप्लायर्स धनुषका सञ्चालक वेचन शर्माको नेतृत्वमा आएका ५-७ जनाको समूहले शुक्रवार अपराह्न कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाईसमेत गाली गलौच गरेको भन्दै कारबाहीको माग गर्दै नगरपालिकाले कार्यालय अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेको हो ।
कर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रूपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरिस्? खानी बन्द गर्ने अधिकार तँलाई कसले दियो? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रमुख प्रहार गर्दै हात पात समेत गरेको छ ।’
नगरपालिकाले ठेकेदारहरूले ग्राभेल जथाभाबी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ ।
‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरूलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिर निकाले पनि प्रमुख प्रशाकीय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौच गर्दै गएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ; कर्मचारीद्वारा जारी माग पत्रमा उल्लेख गरेको छ ।
कार्यालय समयमा प्रमुख प्रशाकीय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारबाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यरत हामी सम्पूर्ण कार्मचारीहरुलाई शान्ति सुरक्षाका व्यवस्था नभएसम्मका लागि कामकाज गर्न असमर्थ रहेका छौ, माग पत्रमा भनिएको छ ।
घटनाको बारेमा प्रमुख प्रशासकीय अधिकृत गेलालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।



प्रतिक्रिया दिनुहोस्