सेटिङमा सांसद कोइरीलाई निलम्बनबाट जोगाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं– एमाले र सभामुख देवराज घिमिरेको सेटिङमा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्नबाट जोगाउने भएको छ । हत्या अभियोगमा उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएकै अवस्थामा गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी निलम्बनमा पर्नुपर्ने भए पनि सभामुख घिमिरेले उनलाई निलम्बन हुनबाट जोगाइरहेका छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ अनुसार पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका सांसद स्वतः निलम्बनमा पर्ने भए पनि एमालेको दबाबमा सभामुख घिमिरेले निलम्बनको सूचना जारी गर्न आनाकानी गरेका बताइएको छ ।
गत मंसिर ४ को चुनावमा नेकपा एमालेबाट महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल जाँदै गरेका नेपाल प्रहरीका सई थमन थापालाई एम्बुलेन्सबाट जबर्जस्ती निकालेर हत्या गरेको आरोप छ।
महोत्तरी जिल्ला अदालतले महतोलाई ०७६ असोज २ गते १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा जनकपुर उच्च अदाललते उल्ट्याउँदै उनलाई मुद्दा किनारा नलाग्दासम्म थुनामै राख्न र जिल्ला अदालतको आदेश कार्यान्वयन नगर्न आदेश दिएको छ।
कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको पनि उनी राजनीतिक संरक्षणमा छन्। प्रतिनिधिसभा सुरु भएसँगै सांसद कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज सदनमा उठेपछि उनी संसद गएका छैनन्।

कांग्रेस सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराएका छन् भने बुधबार रास्वपा सांसद निशा डाँगीले पनि कोइरी निलम्बनमा नहुनुको कारण माग गरेकी छिन्।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्