११ सय वटा पेट्रोल-डिजल इन्जिन गाडी भित्रिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं– आयात खुला गरिएको ४ महिनामा डिजल–पेट्रोल इन्जिन गाडी १ हजार ९८ युनिट नेपाल भित्रिएका छन् । सरकारले बिदेशी मुद्रा सञ्चितिमा दबाब आएपछि पेट्रोल–डिजल इन्जिन गाडीसँगै केही वस्तुको आयातमा बन्देज गरेको जानकारी दिएको छ । सञ्चिति विस्तारै बढ्दै गएपछि पुसबाट गाडी लगायत सबै आयात खोलेको छ। त्यसयता करिव ११ सय गाडी भित्रिएका हुन्।
चालु आर्थिक वर्षको ९ महिनामा १८ सय ४५ वटा इन्धन इन्जिनका गाडी भित्रिएका छन् । जसमा सबैभन्दा बढी १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका छन्। जसमा २ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ पैसा बाहिरिएको छ। यस्तै, सरकारले यसबाट ५ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी, यसमा ४४७ वटा डिजल इन्जिन गाडी भित्रिएका छन्। डिजल गाडीमा सबै १५०० देखि २५०० सीसीसम्मका छन्। पेट्रोल इन्जिन गाडीहरुमा १ हजारदेखि १५०० सीसीसम्मका ९८८ वटा आयात भएका छन्। १५०० देखि २ हजारसम्मका ३४ र दुई हजार सीसीमाथिका १० वटा मात्रै भित्रिएका छन्।

सरकारले लगाएको आयात प्रतिबन्धअघिका ३ महिनासम्म ६४९ वटा मात्रै पेट्रोल इन्जिनका गाडी आयात भएका थिए। आयात खुलेपछि ४ महिनामा ६५१ युनिट पेट्रोल इन्जिन सवारी नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा भने चालु आर्थिक वर्ष थोरै संख्यामा पेट्रोल इन्जिन गाडी आयात भएका छन्। ९ महिनामा १० हजार ८५६ वटा पेट्रोलका गाडी भित्रिएका थिए। यो हिसाबले हेर्दा चालु आर्थिक वर्षमा लगभग ८० प्रतिशत कम आयात भएका छन्।

यसैगरी, चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोल इन्जिनका दुईपांग्रे ७९ हजार ५२८ वटा आयात भएका छन्। विद्युतीय २ पांग्रे ६ हजार २६३ छन्। अघिल्लो वर्ष ९ महिनामा पेट्रोल इन्जिनका दुईपांग्रे २ लाख २५ हजार मोटरसाइकल छन्। उक्त भन्सार विभागको तथ्यांकले अटो बजारमा धेरै मन्दी लागेको देखिन्छ। दुई पाङ्ग्रेको व्यापारमा पनि ५० प्रतिशतले गिरावट आएको तथ्यांकले देखाउँछ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आयत प्रतिबन्धको सूचना चुहाएर एकै पटक ६०० भन्दा धेरै युनिट गाडीहरुको एलसी खोलेको थियो। त्यही गाडीहरु कम्पनीले विस्तारै आयात गरिहरेको थियो। यसले पनि आर्थिक वर्षको आयात धेरै देखिएको व्यवसायीहरु बताउँछन्।
नेपालमा सवारी आयात प्रतिबन्ध खुलेपछि धेरै मोडलहरु सार्वजनिक भएका छन्। यस अवधिमा सबै ब्रान्डले आ(आफ्नो गाडीहरुका नयाँ मोडलहरु नेपाली बजारमा सार्वजनिक गरेका छन्।

हुन्डाईको गाडी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ अल न्यु भेन्यु फेसलिफ्ट आयात प्रतिबन्ध खुलेपछिको पहिलो गाडी सार्वजनिक गरेको थियो। यस्तै अर्को क्रेटाको ‘स्पेसल नाइट एडिसन’ लाई पनि नेपाल ल्याइसकेको छ। यो नेपाली बजारमा धेरै बिक्री हुने गाडी हो। यसैगरी, महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटले दुई वटा एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले एक महिनाअघि लक्जरियस सेगमेन्टको एसयुभी ‘एक्सयुभी ७००’ मोडल नेपालमा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: