प्रयोगविहीन तार हटाउन महानगरपालिकाले १५ दिनको समय दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं– सोमबार नगर प्रमुखस्तरीय निर्णयबाट पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिकाले सेवा प्रदायकलाई १५ दिनको समय दिएको छ । टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ।

महानगरले मंगलबार यसै विषयमा एक सूचना जारी गर्दै तार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई समय सीमा तोकेको हो। बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकाय तथा संघ र संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारहरूले सहरी सुन्दरतामा ह्रास पुऱ्याएका उक्त सूचनामा उल्लेख गरिएको छ।

यस्ता तारहरुले शहरमा आगलागीको जोखिम बढाइरहेका छन्। यी तारहरुले सार्वजनिक आवागमनमा समेत असर गरिरहेका छन्। यसबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको छ।

अहिले सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरण र र नेपाल टेलिकमका हुन्। सेवाप्रदायकसँग प्राधिकरणले नै शुल्क तिरेर पोलमा तार राख्न दिएको हो। तर, उनीहरुले पोल भाडा तिर्न आनाकानी गर्दा विवाद चर्किएको छ। प्राधिकरणले पनि तार व्यवस्थापनका लागि पटक( पटक सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ। तर, सेवा प्रदायकले अटेरी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array