चितवनमा रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेपछि चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ। भरतपुर महानगरपालिका ११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो ।
यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो। अहिले मतदानस्थलमा छलफल जारी रहेको जानकारी दिएको छ ।
नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताइएको छ । उनले भने, ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ।’
आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।
यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array