काठमाडौं– दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चापछि नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धी पक्षलाई निर्देशन दिएका छन् ।
यसै सन्दर्भमा आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई डाकेर प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएको जानकारी दिएको छ ।
प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्