रौतहटमा गोली चल्दा एकको मृत्यु, चार घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

 रौतहट – रौतहटमा शनिबार ऐलानी जग्गा च्याप्ने विषयलाई दुई पक्षबीचको झडप भएपछि गोलीकाण्ड समेत हुँदा एक जनाको मृत्यु चार घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार रौतहटको गढीमाई नगरपालिका–८ मा दुई पक्षबीच ऐलानी जग्गाको विषयलाई लिएर गोली चलेको हो । जसमा १२ बोरको बन्दुकबाट तीन राउण्ड गोली फायर गरिएको रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिएका छन् । गोली लागेर स्थानीय राजकुमार राय यादवको ज्यान गएको उनले बताए। गोली लागेर घाइते भएका यादवको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
दुई जना स्थानीयको घरको बीचमा एक कठ्ठाजति ऐलानी जग्गा रहेको र सोही जग्गामा दुवै जनाले दाबी गर्दा विवाद बढेको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले जानकारी दिए। बीचमा रहेको ऐलानी जग्गाको विषयमा विवाद हुँदा जग्गा छुट्याएर किलासमेत गाडिसकिएको भए पनि पछि दुवै पक्षबीच गालीगलौज भएको र विवाद बढ्दै जाँदा गोली चलेको उनले बताए।

किला गाडेपछि करिब एक फिटमात्रै यता उता भएकोमा दुबै पक्षले आफ्नो जग्गा च्यापियो भनेर दुवैतर्फबाट ढुंगा हानाहानसमेत गरेको मेयर यादवको भनाइ छ। गोलीकाण्डमा चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा बलदर राय यादव, रामप्रताप यादव, कपिलदेव राय यादव र निञ्जन यादव रहेका छन्। उनीहरुमध्ये दुई जनाको खुटामा गोलीको छर्रा लागेको एसपी मगरको भनाइ छ। घाइते भएका चारै जनाको गरुडाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
गोलीकाण्डमा संलग्न रहेको आरोपमा स्थानीय रामबाबु राय यादवसहित १६ जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलबाट प्रहरीले फायर गरिएको तीन राउण्ड गोलीको खोका, स्थानीय रामबाबु राय यादवको घरबाट १० राउण्ड गोली र घटनास्थलबाट १२ बोरको एक थान बन्दुकसमेत बरामद गरेको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: