कृषिक्षेत्रमा अनुदान बढ्दा उत्पादन घट्योः महालेखा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं– सरकारले हरेक वर्ष उत्पादन बढाउन कृषिक्षेत्रमा ठूलो रकम अनुदान दिँदै आए पनि उत्पादन भने घट्दो आएको छ । सरकारले आयात कम गर्ने र आन्तरिक उत्पादन बढाउने भन्दै कृषिक्षेत्रमा विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयनमा ल्याएको छ । मोटो रकम अनुदान दिदै आएको छ ।
खाद्यान्न, तरकारी, फलफूललगायतका वस्तुको उत्पादन बढाउन हरेक वर्ष अनुदानको रकम बढाउँदै लगिएको छ । महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनले सरकारले हरेक वर्ष अनुदानको रकम बढाउँदै लगे पनि उत्पादन खस्किँदै गएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार आव २०७८र७९ मा कृषिक्षेत्रको अनुदानमा १०।९२ प्रतिशतले वृद्धि भएको थियो ।
सरकारले खाद्यान्न, तरकारी र फलफूलमा २१ अर्ब ८३ करोड खर्च गरेकोमा खाद्यान्न २.०३ प्रतिशत र फलफूल उत्पादन ४.११ प्रतिशतले बढेको छ भने तरकारी उत्पादन १.०२ प्रतिशतले घटेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनमा विगत ५ वर्षमा अनुदान बढेको अनुपातमा कृषिजन्य उत्पादनको वृद्धि हुन नसकेको उल्लेख छ । सरकारले आव २०७४र७५ मा खाद्यान्न, तरकारी र फलफूल उत्पादन बढाउन ८ अर्ब ७६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । उक्त वर्ष ९६ लाख ५७ हजार टन खाद्यान्न, ४० लाख ९९ हजार टन तरकारी र १० लाख १० हजार टन फलफूल उत्पादन भएको थियो ।

आव २०७४ र ७५ देखि अनुदानको रकम दोब्बरले बढ्दा उत्पादन भने उल्लेख्य वृद्धि नभएको तथ्यांकले देखाउँछ । सरकारले आव २०७५र७६ मा १२ अर्ब २९ करोड, आव २०७६र७७ मा १६ अर्ब ८३ करोड, आव २०७७र७८ मा १९ अर्ब ६८ करोड र आव २०७८र७९ मा २१ अर्ब ८३ करोड रुपैयाँ अनुदान वितरण गरेको छ ।

आव २०७८र७९ मा पनि उस्तै छ । अनुदानको रकम करिब २२ अर्ब वितरण गर्दा १ करोड ७ लाख ७२ हजार टन खाद्यान्न, ४१ लाख ५३ हजार टन तरकारी र १४ लाख १६ हजार टन फलफूल उत्पादन भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष मल खरिदमा १६ अर्ब ६१ करोड ५९ लाख, बाली तथा पशुधन बीमा प्रिमियममा १ अर्ब ९२ करोड २९ लाख, उखु कृषकका लागि १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ, मूल्य शृंखला विकासमा ६ करोड ९० लाख र अन्य क्षेत्रमा १ अर्ब ५८ करोड ३६ लाख गरी २१ अर्ब २३ करोड ८० लाख अनुदान वितरण गरेको थियो । अनुदानका लागि २४ अर्ब ६७ करोड लाख बजेट व्यवस्था भएकोमा ८६।०६ प्रतिशत खर्च भएको हो ।
महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा रासायनिक मलबाहेक अन्य प्रयोजनको लागि व्यक्ति वा संस्थागत रुपमा दिने अनुदान तत्काल रोक्का गर्नुपर्ने देखिएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा रासायनिक मल खरिदका लागि प्रदान भएको अनुदानअनुसार समयमै खरिद कार्य नभएको एवं खरिद भएको मलसमेत कृषकले बाली लगाउने समयमा प्राप्त गर्न नसकेको, बाली तथा पशुधन बीमा गराउनेको विवरण अद्यावधिक गरी समयमै प्रिमियम र दाबी भुक्तानी तथा उखु कृषकले खरिदकर्ताबाट समयमै उखु बिक्रीबापतको रकम प्राप्त गर्न नसकेको स्थिति रहेको महालेखापरीक्षकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array