काठमाडौं–हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको बताइएको छ । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् ।
समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो। यसबारे तीन वर्ष अध्ययन गरिएको थियो। एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका(५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ ।
प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए। नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताइन्।
सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको पनि बताइन्।


प्रतिक्रिया दिनुहोस्