काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जिम्मेवारी बोध गरी काम गर्न सचेत गराएको छ।
मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने महानगरका मेयरको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन्।
उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन्।
बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको पनि उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्