काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आर्थिक समस्याको समाधान गर्न सरकारका सबै निकाय एकै ठाउँमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउन सघन छलफल भइरहेको बताए ।
प्रधानमन्त्रीले बैंक ब्याज दर कम गर्ने र राजस्व संकलन बढाउने सन्दर्भमा छलफल भइरहेको बताएका छन् । ‘अहिलेको चुनौतीको सामना गर्ने गरी सरकारले मेहनत गरिरहेको छ’ उनले भने।
अर्थमन्त्री डा. प्रकाश शरण महतले लगानीको मनोबल बढाउन अल्पकालीन र दीर्घकालीन हिसाबले काम सुरु गरेको बताएका छन् । उनले अहिलेको संकट मौद्रिक नीति कडा हुँदा भएकोतर्फ संकेत गर्दै मौद्रिक नीतिका कारण ऋण बिस्तार नभएको, ब्याज दर बढेको, आर्थिक गतिविधि घटेर राजस्वमा दबाब परेको बताए । उनले राजस्व कम उठेका कारण पुँजीगत खर्च बढाउने इच्छा हुँदाहुँदै गर्न नसक्ने अवस्था रहेको बताए।
‘मौद्रिक उपकरणले बैंकको ब्याज बढ्यो। अन्य खाले समस्या पनि आएको छ। अहिले अरु परिवेश ठिकठाक भएको छ। त्यसैले अब मौद्रिक नीतिलाई सहज बनाउनु पर्छ,’ उनले भने, ‘कर्जा लिएर अप्ठेरोमा परेका ब्यवसायी हुनुहुन्छ उहाँहरुलाई सहजीकरण गर्नुपर्छ। पुनर्तालिकीकरण दिने कुरा, ब्याज घटाउने कुरामा हामी सहमत छौं।’
उनले लगानी सम्बन्धी समस्या हल गरेर अर्थतन्त्र चलायमान बनाउन लागिपरेको बताए। ‘ऋण लगानी बिस्तारै बिस्तारित हुने छ। नयाँ ऋण पनि बिस्तार गर्ने र पुरानोले पनि फिर्ता गर्न सक्ने गरी कोशिश भइरहेको छ,’ उनले भने।
उनले अहिले जग्गामा कित्ताकाटले गर्दा पनि समस्या भएको बताए। यसलाई सहजीकरण गर्न पनि प्रधानमन्त्रीसँग कुराकानी भइरहेको बताए।
उनले अहिले जुन खालको नकारात्मक सेन्टिमेन्ट छ त्यसलाई चिरेर अगाडि बढ्नेतिर सरकार लागिपरेको बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा केही दबाब र अफ्ठेरा भएपनि गम्भीर समस्या भने नरहेको बताएका छन् । अहिले पुँजी निर्माणको समस्या छ, लगानीको समस्या छ। यो समस्यालाई हल गरेर सकारात्मक आर्थिक वातावरण बताउन हामी प्रतिबद्ध छौं,’ उनले भने।
उनले सरकारले अल्पकालीन नीति अनुसार पुँजीगत खर्चको प्रभावकारिता बढाउनेतर्फ रहेको भन्दै साधारण खर्चमा निर्मम ढंगले कटौती गर्नु पर्ने आवश्यकता रहेको बताए।
पुँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउने भन्दै उनले आर्थिक विकासमा ठूलो योगदान उद्यमी ब्यापारीको र उनीहरुको लगानीका कारण आर्थिक गतिविधि भएको बताए । नेपाल उद्योग बाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाको अवसरमा विशेष अतिथिका रुपमा बोल्दै अर्थमन्त्रीले सबै खाले समस्या समाधान गर्न सरकार अगाडि बढिरहेको बताए।


प्रतिक्रिया दिनुहोस्