चन्द्रमाको छेउमा जाँदै चार अन्तरिक्ष यात्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं – संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष एजेन्सी राष्ट्रिय एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) र क्यानडाली अन्तरिक्ष एजेन्सी (सीएसए) ले संयुक्त रूपमा आर्टेमिस दुई मिसनमा उडान गर्ने चार अन्तरिक्ष यात्री सार्वजनिक गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको नासाको जोन्सन स्पेस सेन्टर नजिकैको एलिङ्टन फिल्डमा आयोजित कार्यक्रममा यी चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक गरिएको हो ।

आर्टेमिस २ चालक दलमा कमाण्डर रिड विजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी ह्यान्सेन समावेश छन् । ह्यान्सेन अमेरिका र क्यानडाबीचको सम्झौता अन्तर्गत उडान गर्ने क्यानाडाली अन्तरिक्ष एजेन्सी (सीएसए) का अन्तरिक्ष यात्री हुन् । उनी पृथ्वीको कक्ष छोडेर चन्द्रमामा उड्ने पहिलो गैरअमेरिकी हुनेछन् ।

आर्टेमिस २ मिसन अन्तर्गत यी चारै जना अन्तरिक्षयात्री ओरियन अन्तरिक्ष यानमा चन्द्रमाको सतहदेखि करिब १० हजार किलोमिटर टाढाबाट फन्को मार्दै पृथ्वीमा फिर्ता आउने छन् । यो मिसन आर्टेमिस ३ मिसनका लागि मार्गप्रदर्शक हुनेछ ।
यसअघि सन् २०२२ को नोभेम्बर १६ मा आर्टेमिस १ मिसन अन्तर्गत रित्तो ओरियन अन्तरिक्ष यानले चार सय किलोमिटर टाढाबाट चन्द्रमाको फन्को लगाई डिसेम्बर ११ मा पृथ्वीमा फिर्ता आएको थियो। यसको सफलतापछि आर्टेमिस २ मिसन अघि बढेको हो ।

वर्षाैंको योजना, काम र प्राविधिक विकासपछि सन् २०१७ मा नासाले आर्टेमिस मिसन सुरु गरेको थियो । यस मिसनले दोस्रो पटक मानव जातिलाई चन्द्र धरातलमा उतार्ने लक्ष्य राखेको छ । यसअघि सन् १९६१ मा नासाले अघि सारेको अपोलो मिसन अन्तर्गत अपोलो ११ मिसनले पहिलो पटक मानिसलाई चन्द्रमामा उतारेको थियो ।

१९६९ को जुलाई १० मा अपोलो ११ मिसनका कमाण्डर नील आर्मस्ट्रङ र चन्द्र मोड्युल पाइलट बज एल्ड्रिनले चन्द्रमाको सतहमा पाइला टेकेका थिए । अन्तिम पटक अपोलो १७ मिसन अन्तर्गत १९७२ को डिसेम्बर ११ मा कमाण्डर जीन सेर्नान र लुनार मोड्युल पाइलट ह्यारिसन स्मिट चन्द्रमामा हिँडेका थिए । अन्तरिक्षको अन्वेषणमा मानवइतिहासको यो महत्वपूर्ण सफलतालाई फेरि हात पार्ने र चन्द्रमामा मानवलाई फर्काउने उद्देश्यले नासाले आर्टेमिस मिसन अघि सारेको हो ।

यसअन्तर्गत सन् २०२५ को डिसेम्बरका लागि तय गरिएको सबै भन्दा महत्वपूर्ण आर्टेमिस ३ मिसनले चन्द्रमामा दोस्रो पटक मानव जातिलाई अवतरण गराउनेछ । यो मिसनमा चार जना अन्तरिक्ष यात्रीहरू रहनेछन् र यीमध्येका एक गैरश्वेत अथवा सेतो वर्णबाहेकको अन्तरिक्ष यात्री र एक महिला अन्तरिक्ष यात्री चन्द्र धरातलमा उत्रनेछन् ।

आर्टेमिस २ मिसनको ओरियन अन्तरिक्ष यान क्यालिफोर्नियाको तटस्थित प्रशान्त महासागरमा खस्नेछ । त्यहाँ अमेरिकी नौसेनाको जहाज र नासाको टोलीले अन्तरिक्षयात्री र अन्तरिक्षयानलाई पृथ्वीवामा स्वागत गर्नेछन् । आर्टेमिस ३ का दुई अन्तरिक्ष यात्रीले एक हप्तासम्म चन्द्रमाको सतहमै रहेर विभिन्न अध्ययन एवं अन्वेषण गर्नेछन् । यसका साथै उनीहरुले चन्द्रमामा मानवताको बसाईं र मंगलग्रहको अन्वेषणमा मद्दत पु¥याउने केही आधार स्थापना गर्ने छन् ।

५० वर्षभन्दा बढी समयपछि मानिसलाई चन्द्रामा उतार्ने लक्ष्य रहेको यो मिसन करिब ३० दिन लामो हुनेछ । ग्रीक किम्वदन्तीमा आर्टेमिस ज्युस र लेटोकी छोरी एवं अपोलोको जुम्ल्याहा बहिनी भनेर चिनिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्