मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छः गृहमन्त्री श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले आयोग गठन गर्न लागेको जानकारी दिए । त्यसपछि सांसदहरुले सरकारले आयोग गठन गरेर पीठकलाई उन्मुक्ति दिन खोजेको आशंका गरे ।

सांसदको आशंका र विभिन्न जिज्ञासाप्रति फेरि जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले तत्काल नै पीडितलाई न्याय दिन आयोग गठन गर्न लागेको जानकारी गराए ।

कुनै पनि बहानामा मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्ने विषयलाई पन्छ्याउन वा ढिला गर्न सकिँदैन,’ उनले भने, ‘यसमा सबैको साथ र सहयोग चाहिन्छ । कुनै तर्क बितर्क गरेर अब बसिँदैन । पीडितलाई न्याय दिइनेछ ।’

गठन हुने आयोगले स्थालगत अध्ययन गरेर को कति पीडित भए, के कस्तो कानूनको आवश्यकता पर्नेछ भन्ने विषयमा अध्ययन गरेर दिने प्रतिवेदनका आधारमा पीडितलाई न्याय र पीडकलाई सजाय दिने उनको भनाइ छ ।

मिटरब्याजी पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले तीन किसिमका पीडित रहेका जानकारी दिए । उनका अनुसार आवाज उठाउन नसक्ने, आवाज उठाउन संगठित भइरहेका र न्यायालयमा गए पनि तमसुकका आधारमा भएका फैसलाबाट पनि न्याय नपाएका तीन किसिमकै पीडितलाई न्याय दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्