१८ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – अन्तिम समयमा लयमा फर्किदा सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ । इन्ट्रा डे कारोबारमा १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबारको कारोबारको अन्तिम घण्टामा वृद्धि हुँदा १९०० अंक माथि पुगेर बन्द भएको हो ।

लघुवित्त बाहेक उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । लघुवित्त कम्पनीको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुशपछि लघुवित्त कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा लघुवित्त उपसूचकमा ०.५१ प्रतिशतले गिरावट आएको छ ।

उत्पादनमूलक उपसूचकमा २.३५ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा, वित्त कम्पनी र विकास बैंक उपसूचक पनि २ प्रतिशत भन्दा माथिले वृद्धि भएका छन् ।

नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । सोमबार नेप्सेमा ३६ हजार ९८० वटा कारोबारमा ४३ लाख ८ हजार ६४५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ । आयतबार १ अर्ब २८ करोड ९४ लाखको कारोबार भएको बजारमा सोमबार कारोबार रकम केही बढेको हो ।

सोमबार कारोबार भएकामध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९१ लाखको कारोबार भएको छ । यस्तै जीवन विकास लघुवित्तको ४ करोड ७० लाख र नबील बैंकको ४ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ४४ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर रहेको छ । सोमबार सुपरमाइ हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अजोड इन्स्योरेन्सको सेयरमूल्य ८.३० प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्र बैंकको निर्देशनपछि प्रस्तावित लाभांश घटाएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ६.९७ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array