काठमाडौँ – इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ ।
आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुलाई इन्जिनियर व्यवसाय गर्न दिनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तिर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको बताए । उनले पहिलोपटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए ।
सदस्यसचिव गिरीले इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तिर्ण हुनुपर्ने बताए । परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रुपमा काम गर्न नपाउने पनि बताए । विगतमा इन्जिनियरको प्रमाणपत्र पाएकाहरुले भने पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने उनको भनाइ छ ।
मन्त्रीद्वारा निरीक्षण
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन् । उनले परीक्षा निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिलले लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताइए ।
मन्त्री श्रेष्ठले इन्जिनियर बन्नको लागि निष्पक्षता, गुणस्तरियताको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क रहेको बताए । काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरुलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास समेत उनले व्यक्त गरे ।
त्यस्तै,काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्व विद्यालयको इन्जिनियरिङ उत्तिर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली बताए । उनले भर्खरै संशोधन भएको ऐन अनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तिर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायको रुपमा काम गर्न पाउने भएको जानकारी दिए ।
इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गर्न दिइरहेको थियो । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि वैधानिक हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्