केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड वैशाखमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा ६५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । एथलेटिक्समा १५४, भलिबल र कबड्डीमा समान १२६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिनेछन् ।

प्रतियोगितामा जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशि ९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ । ७५३ स्थानिय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड हुनेछ ।

प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखिने प्रमुख शर्माले जानकारी गराए । प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array