तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा ५ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ चैत मा ५ जनालाई पक्राउ गरेको छ । बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार यो समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको छ । पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ता विना नै लेखापढी गर्दै आएका उनले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए ।

पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ । श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array