नाफा घाटा नहेरी संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनु पर्छ: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनुपर्ने बताएका छन् ।

मङ्गलवार काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको बताएका हुन् ।

उनले भने, ‘दलीय सङ्कीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौँ भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’

संक्रणकालीन न्यायको विषय टुङ्ग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । उनले भने, ‘हामी सबै मिलेर एक ठाउँमा बसेर काम गर्नुपर्नेछ । यो पक्ष त्यो पक्ष नभनी, काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर टुङ्ग्याउनुपर्नेछ ।’

थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए । ‘द्वन्द्वबाट पीडित भएकाहरूको भावना सम्बोधन गर्न सकेनौँ, टुङ्ग्याउनुपर्ने नाममा उनीहरूले बोक्नैपर्छ भारी भन्न लाग्यौँ भने, उनीहरूले स्वीकार गरेनन् मानेनन् भने पनि हामी अप्ठ्यारोमा पर्छौँ’ उनले भने ।

संक्रमणकालीन न्यायको विषय नेपालको आन्तरिक मामिला भए पनि यसमा अन्तर्राष्ट्रिय कानुन जोडिने भन्दै ती कानुनको कसीमा ठिक भए कि भएनन् भनेर पनि ख्याल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array