गल्ती गरेको भए मलाई यही रंगशालामा गाड्दिनुस्, म हाँसी-हाँसी मर्न तयार छु: धुर्मुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०७९, मंगलवार
5 Min Read
Aa

काठमाडौँ – गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका अभियान्ता तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफूले देश र राष्ट्रको आवश्यकताका लागि एउटा रङ्गशालाको सपना देखेको र त्यो सपना आफ्नो मात्र नभएर सारा नेपालीको सपना सम्झिएर रङ्गशाला निर्माणमा होमिए पनि अहिले आएर आफूलाई ‘अपराधि’जस्तो व्यवहार गरिएको गुनासो गरेका छन्।

निर्माणाधिन अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उभिएर धुर्मुसले राष्ट्रको सम्पति निर्माणका क्रममा राज्य र अभियान्ताहरु मिलेर बनाउन खोजेको एउटा संरचनालाई व्यक्तिको जस्तो गरेर भइरहेको आलोचनाका विषयमा बोल्दै उनले आफूलाई पटक ‘आत्मादाह’ गर्नुपर्ने अवस्थामा पुर्‍याएको बताए।

उनले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातनासँगै डिप्रेसनमा पुग्नु परेको बताए। उनले आफूले सहयोगका लागि नपुगेको ठाउँ कहीँ नभएको भन्दै आफ्नो गल्ती भए देखाएर कारबाही गर्न र नभएमा रङ्गशालाको जिम्मेवारी लिइदिन सरकारसँग आग्रह गरे।

भावुक र आक्रोशित देखिएका धुर्मुसले भने, ‘यदी कोही कसैलाई हामीले भनेको कुरा चित्त बुझ्दैन, हामीले देखाएका अडिट रिपोर्टहरु चित्त बुझेको छैन भने कृपया एकपटक रङ्गशाला आइदिनुस्, हेर्नुहोस् तपाईंहरुले सहयोग गरे बराबरको संरचना बनेको तपाईंको आँखाले देखेन ठहराएन भने मलाई यहीँ मार्दिनुस्, खाल्डो खनेर यहीँ गाड्दिनुस्, म हाँसी-हाँसी मर्न तयार छु। तर मलाई पल–पल नमार्दिनुस्।’

उनले हरेक दिन आफूसँगै परिवार पनि यातनाको सिकार भएको बताए। उनले हरेक दिन सिंहदरबार धाएर घर पुग्दा परिवारले सोध्दा नाजवाफ हुने गरेको बताए। उनले रङ्गशालाको निर्माण आफूले सुरु गरे पनि परिवारले यातना भोगिरहेको भन्दै आफूलाई असह्य भएको बताए। उनले भने, ‘यसको सम्पूर्ण दोष म लिन्छु। कृपया मेरो परिवारलाई गाली नगर्दिनुस्। अभियन्तालाई गाली नगर्दिनुस्। यसको दोष म लिन्छु। देशका लागि काम गर्दा यसको सजाय यति कठोर हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ।’

उनले फेसबुक लाइभमा भने, ‘तपाईंहरुले गर्नुभएको सहयोग खेर गएको छैन। सबै यहीँ खर्च भएको छ। हामी निमित्त मात्र हौँ। स्वयंसेवी हौँ। यो राज्यको सम्पत्ति हो। सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस्।’ उनले परियोजनाको जम्मा खर्च ५७ करोड भएको बताए।

उनले भने, ‘५७ करोडको परियोजनामा ५७ करोड नै भ्रष्टाचार भएको भनेर उजुरी हालियो। यही रंगशालामा मेयर कप आयोजना गरेर नमूना खेल मैदानको पैसा २ लाख १० हजार नतिर्नेहरु उजुरी हाल्न पुग्नु भएछ।’

उनले सरकारले गठन गरेको समितिले मूल्यांकन सकिएपछि वास्तविक कुरा बाहिर आइहाल्छ भनेर पर्खिबसेको बताए। उनले भने, ‘पटक-पटक समिति गठन भए पनि महानगरपालिकाले बोलाएको सीएको टीमले महानगरलाई प्रतिवेदन बुझायो। तर, हिसाब सार्वजनिक भएन। ती रिपोर्टहरु फागुनमा खेलकुद मन्त्रालयमा पुगे। ५ गते खेलकुद मन्त्रालयले अर्को समिति बनायो, एक हप्तामा सुझाव दिन भनेर। तर, एक हप्तासम्म समितिका पदाधिकारीको चिठी पनि पुगेको थिएन। म आफैं चिठी बोकेर हिँडेँ। बैठक बस्यो। अब त सुझाव देला, टुंगिएला भन्यो छैन।’

‘फेरि अर्को मूल्यांकन सुरु भयो। जागिर छोडेका इन्जिनियर र अकाउन्टेन्ट बोकेर सिंहदरबार धाइरहेँ। एक दिन होइन, दुई दिन होइन। यो चाहियो, त्यो चाहियो भनियो। मन्त्रीकहाँ गयो, रिपोर्ट दिएको छैन भन्छन्। सचिवकहाँ गयो पर्खिनुस् न भन्छन्। साढे पाँच महिना बित्यो खेलकुद मन्त्रालयमा। तर, रिपोर्ट आएन। मौखिक रुपमा समितिका सदस्यले भन्न थाल्नुभयो, नेपाल सरकारसँग यो परियोजनामा कुनै लेनादेना छैन। यो रिपोर्ट त महान्यायाधिवक्ताकहाँ पठाउनुपर्छ। महानगरपालिकाले नै भुक्तानी गरेर सल्टाउनुपर्ने थियो। महानगरपालिकालाई सोध्यौँ। केन्द्रीय सरकारले सकार्नुपर्छ भनियो। महानगर र केन्द्रीय सरकारको चक्कर लगाउँदालगाउँदै दिन बिते।’

उनले रङ्गशालाको कुरा लिएर नपुगेको ठाउँ नभएको बताए। धुर्मुसले भने, ‘विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकहाँ पुगेँ, लौन टुंगाइदिनुपर्‍यो भनेर। गैरआवासीय नेपाली संघ, क्रिकेट संघ, खेलकुद परिषद् कहाँमात्र धाइनँ। अब अगाडि बढाइदिनुस् भनेर अनुरोध गरेँ। मुख्यसचिवकहाँ पुगियो। म त मर्ने अवस्थामा पुगिसकेँ, कि खोट देखाइदिनुपर्‍यो, होइन भने म यसरी नसक्ने भएँ भनेँ।’

उनले थपे, ‘आत्मदाह गर्ने अवस्थामा पुगेको बताएँ। अब टुंगिन्छ भन्दाभन्दै साउन ९ गते मन्त्रिपरिषद्‌बाट अर्को समिति बन्यो, शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा। त्यसले एक महिनाभित्र रिपोर्ट दिनुपर्ने थियो। रिपोर्ट त पेश भयो स्वामित्व लिने भनेर तर निर्णय गर्ने बुँदाहरु लेखेएनछ भनियो। अब दशैँ सकेपछि टुंगिन्छ भनियो। दशैँ सकियो, तिहार सकियो। फेरि चुनाव आउने बेला भयो, अहिले मिल्दैन भनियो।’

‘मैले गरेको काम सही छैन भने खोट देखाइदिनुपर्‍यो। सञ्चारमाध्यममा प्रतिवेदन सार्वजनिक भएका छन। ५७ करोड ९२ लाख रुपैयाँ खर्च छ भने ३९ करोड ८० लाख संकलन भएको छ। १८ करोड ४३ करोड रुपैयाँ उधारो छ। हिसाब यही हो।’

धुर्मुसले जग्गाको विषयमा पनि अफवाह फैलाइएको बताए। ‘हामी कृषि विश्वविद्यालयको जग्गा हडप्न आएका थिएनौँ। हामीलाई यहीँ चाहिन्छ भनेर खाँबो गाडेर धर्ना बसेका थिएनौँ। जग्गामा हाम्रो के दोष छ? जग्गा उपलब्ध गराएको सरकारले होइन र? यो ठाउँमा बना भनेर दिइयो। डेढ वर्षपछि एक्कासी यस्ता कुराहरु आए। किसानको छोरो हुँ। १० कक्षासम्म हलो जोतेर पढेको हुँ। कृषिप्रति मोह छैन होला। हामी आउँदा यो जमिन कस्तो थियो। तीन-चार फिटमा पानी आउँथ्यो, सिमसार हो। १७ फिट पुरेर जग हालिएको थियो।’

प्रतिक्रिया दिनुहोस्