काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन्।
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा हेर्न प्रधानमन्त्री दाहाल त्यहाँ पुगेका हुन्।
लिगको अन्तिम खेलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ। खेल हेर्न र नेपाली खेलाडीलाई हौसला दिन त्यहाँ पुगेका प्रधानमन्त्री दाहालले नेपाली खेलाडीलाई विजयको शुभकामनासमेत दिएको उनको सचिवालयले जनाएको छ।
कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन्। अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन्।
प्रधानमन्त्री दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्