काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली काँग्रेसले आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ति जारी गर्दै काँग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई कमजोर बनाएको बताएका हुन् ।
चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मङ्गलवार राती १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ । बुधबारमात्रै काँग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आचारसंहिता उल्लङ्घन हुने गरी निर्णय गर्ने नेपाली काँग्रेसलाई कारबाहीको दायरामा ल्याउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यसबारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको निर्वाचन प्रतिनिधिसमेत रहेका बर्तौलाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्