काठमाडौं–
विकराल आर्थिक स्थितिका बाबजुद पनि बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठुलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै देशभरका उद्योग व्यवसायीहरूले बैंकविरुद्ध सडक सङ्घर्ष चर्काएका छन् ।
विगत एक वर्षदेखि आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैङ्क नै घेर्न आउनुपरेको मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन रिजालले बताए ।
देशभरबाट ७० भन्दा बढी जिल्लाका उद्योग व्यवसायी, मजदुरहरू बैङ्क विरुद्धको आन्दोलनमा बालुवाटारमा जम्मा भएको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासङ्घहरूसँग आबद्ध भएका नभएका देशभर वस्तुगतसँगहरु आन्दोलनमा होमिएको उनको भनाइ छ । यातायात व्यवसायी सङ्घ, महासङ्घ, अटो व्यवसायी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पर्यटन व्यवसायीहरू नाट्टाका प्रतिनिधि समेतको १२५ व्यवसायी सङ्घ÷सङ्गठनहरू आन्दोलनमा सहभागी भएको उनले रातोपाटीलाई जानकारी दिए ।
उसो त उद्योग, व्यवसायीहरू बैङ्क विरुद्ध राष्ट्र बैंकमा आन्दोलन चर्काउँदै गर्दा यता सर्वसाधारण ऋणीहरुले माइतीघर मण्डलामा ¥यालीमार्फत लघुवित्त वित्तीय संस्थाहरूको दर्ता खारेजीको माग गरिरहेका छन् ।
लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपालको संयोजकत्वमा मंगलबार देशभरबाट राजधानी उत्रिएका सर्वसाधारणले लघुवित्त संस्था विरुद्ध नारा लगाइरहेका छन् । गाउँ गाउँमा लघुवित्त संस्थाहरूको ज्यादती विरुद्ध सरकारको ध्यानाकर्षण गर्न राजधानी आएको लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले रातोपाटीसँग बताए ।


प्रतिक्रिया दिनुहोस्