देशको आर्थिक अवस्था सहज छैन, तर आत्तिहाल्नु पर्दैन: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सहज नरहे पनि आत्तिहाल्नु पर्ने अवस्था नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा उनले हाल मुलुकसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे ।

गत वर्ष वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि र त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्ने जस्तो परिस्थिति रहेको बताउँदै उनले भने, ‘तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ ।’ यसले पनि अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रस्ट पार्ने उनको भनाइ छ ।

- Advertisement -
Ad imageAd image

अब आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान गएको उनले बताए । ‘अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ’ दाहालले भने ‘सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ ।’

ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको दाहालले बताए । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनले बताए ।

हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहन्छ । तैपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ’ उनले भने । कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको दाहालको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्