सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ दरका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले यसअघि आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाख रुपैयाँको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन र बाँडफाँट गरेको थियो ।

चार लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र दुई लाख ४९ हजार ९३७ कित्ता सामूहिक लगानी कोषलाई प्राथमिक सेयरको निष्कासन तथा बाँडफाँट गरिएको थियो ।

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आउँदो चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरोसेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array