सामान्य अंकले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – निरन्तर पाँच कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, मंगलबार भने बढेर बन्द भएको छ। गत साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने उकालो लागेको हो।

पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ८८.९४ अंक घटेको थियो। यस दिन भने नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

यस दिन २६१ स्टकको २४ हजार ३७३ पटकको कारोबारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैयाँ बराबरको ४० लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। शुभम पावरको शेयर यसै दिनदेखि कारोबारमा आएको हो भने सुपर मादीको गत बिहीबारदेखि कारोबारमा आएको हो। त्यसैगरी, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने छिमेक लघुवित्तको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

Array