काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले विद्यार्थी संगठनबीच निरन्तर झडप भएकोले लमजुङ कृषिमा क्याम्पसमा निर्वाचनको कार्यक्रम स्थगित भएको जानकारी दिए ।
प्रक्रिया शुरू भएको पहिलो दिन शुक्रबार उपत्यकामा २१ वटा आङ्गिक क्याम्पसमा संगठन दर्ता भएको छ । निर्देशक अधिकारीका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगंजमा ८, पुल्चोक इन्जिनिरिङमा ७, नेपाल ल क्याम्पसमा १७, पद्मकन्या बहुमुखी क्याम्पसमा ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, रत्नराज्य क्याम्पसमा १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ वटा संगठन दर्ता भएका छन् ।
त्यसै गरी सरस्वती ८, थापाथली क्याम्पस ५, नेपाल कमर्स क्याम्पस १६, पब्लिक युथमा १०, नर्सिङ क्याम्पस महाराजगंजमा ८, सानोठिमी र भक्तपुर बहुमुखी क्याम्पसमा ७–७ वटा संगठन दर्ता भएका छन् । कार्यतालिकाअनुसार आज आइतबार मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ ।
यस्तै, २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला गर्ने कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्